दुर्गा प्रसाईँको नाउँ लिएर मणिरामले उठाए रकम !
आन्दोलनका नाउँमा कोही कसैलाई रकम नदिन प्रसाईँको अपिल
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आफूहरूको नाउँ जोडेर लघुवित्त सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवाली लगायतले पीडितहरूसँग रकम उठाएको भन्दै आपत्ति जनाएको छ ।
महाअभियानको सचिवालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूले मिटर व्याजी, लघुवित्त, सहकारी र बैङ्कहरूले चर्को व्याज असुल गरी गरिब, उत्पीडित नेपाली जनतामाथि गरेको ज्यादती विरुद्ध महाअभियान सुरु गर्दै आए पनि यो आन्दोलनका नाउँमा कोही कसैसँग सहयोग नउठाइएको प्रस्ट पारेको हो ।
विज्ञप्तिमा आन्दोलनलाई तुहाउने मनसायले लघुवित्त सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष भन्नेहरू मणिराम ज्ञवाली लगायतकाले यस संस्थाका संयोजक दुर्गा प्रसाईँको नामबाट पीडितहरूसँग प्रति व्यक्ति रु एक हजारको दरले पैसा उठाउने गरेको कुरा जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न नगराउन अपिल गरिएको छ । विज्ञप्तिमा यस संस्थाले आजसम्म कोही कसैलाई त्यस्तो कार्य गर्न, गराउन आदेश नदिएको र भविष्यमा पनि नदिने उल्लेख छ । आफूहरूको नाउँ लिएर कोही कसैले सहयोग उठाउने, चन्दा लिने जस्ता कार्य गरेमा आफूहरू कानुनी उपचारमा जाने पनि विज्ञप्तिमा उल्लेख छ ।
महाअभियानले आफूहरूको नाउँ जोडेर मिटर ब्याज, लघुवित्त सहकारी पीडितसँग रकम उठाउने घृणित कार्य गर्नेहरूको घोर निन्दा र भर्त्सना गरिएको छ ।

