प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुनपर्ने सात दलको निष्कर्ष


काठमाडौँ / सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा मागेकोबारे छलफल भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल भएको र राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिए ।
‘प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर हिजो संसद अवरुद्ध भयो र त्यहाँ प्रमले राजीनामा गर्नुपर्छ भन्ने कुरा आयो, राजीनामाको कुरा कल्पना पनि गर्न सकिन्न’, पाण्डेले भने, ‘जे कुरा हो त्यो कुरा प्रधानमन्त्रीले सदनमा राख्ने ।’
सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायत सहभागी थिए ।