`

कोशीकी उपसभामुख काठमाडौँ लागिन्, प्रदेशसभा बैठक अनिश्चित

Nepal One HD ४ भदौ २०८० १२:०२
प्रमुख खबर

काठमाडौँ । ‘अचानक बिरामी’ परेको भन्दै उपसभामुख सिर्जना दनुवार काठमाडौँ हिँडेपछि कोशी प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । उपसभामुख सृजना दनुवारको अनुपस्थितिका कारण कोशी प्रदेशसभाको कार्य व्यवस्था समिति बैठक सरेको छ । सोमबार बिहान बोलाइएको बैठक मध्यान्ह १२ बजेका लागि सारिएको हो ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक १ बजे बस्ने गरी बोलाइएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक पुनः बसेर सहमतिका लागि प्रयास गरिने बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने बारेको सूचना शुक्रबार नै प्रदेशसभामा दर्ता गराइसकेका छन् । आइतबारलाई मागिएको समय उपसभामुख सिर्जना दनुवारले फेरबदल गरी सोमबार तोकेकी थिइन् । मुख्यमन्त्रीको रूपमा थापा साउन १६ गते नियुक्त भएका थिए । उनले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनले विश्वासको मत पाउनका लागि उप सभामुखले सभा सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।


प्रतिक्रिया