`

भौतिक पूर्वाधारमा लगानी गर्ने दक्षिण कोरियाको प्रतिबद्धता

Nepal One HD १२ भदौ २०८० ६:३७
समाचार

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग दक्षिण कोरियाका राजदूत थेयङ पार्कसहितको उद्यमी प्रतिनिधिमण्डलले भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न प्रस्ताव मागेको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटवार्तामा उक्त प्रतिनिधिमण्डलले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्दै आएको भन्दै भौतिक पूर्वाधारका क्षेत्रमा पनि लगानी गर्न आफूहरू तयार रहेको बताएको हो ।

राजदूत पार्कले सडक वा रेलका क्षेत्रमा लगानी गर्न आफ्नो देश तयार रहेको उल्लेख गर्दै भौतिक पूर्वाधारका हिसाबले नेपालमा अझै धेरै गर्नुपर्ने भएकाले त्यसका लागि ठोस आयोजनामा छलफल गर्न तयार रहेको बताउनुभयो ।

सन् २०१८ मा नेपाल र दक्षिण कोरियाबीच भौतिक पूर्वाधारका विषयमा सम्झौता गर्ने तयारी गरिएकामा सरकार परिवर्तनले हुन नसकेको सम्झौतालाई अगाडि बढाउन राजदूत पार्कले आग्रह गर्नुभयो ।केही महिनापछि नेपाल र दक्षिण कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा हुँदैछ । सो अवसरमा केही ठोस योजनामा लगानी गर्न दक्षिण कोरिया तयार रहेको जनाइएको छ ।

जवाफमा मन्त्री ज्वालाले सम्झौतालाई अध्ययन गरी अगाडि बढाउन आफूले पहल गर्ने उल्लेख गर्दै पूर्वाधार निमार्णका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता हुनसके दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने बताउनुभयो ।उहाँले नेपालका इन्जिनियरलाई दक्षिण कोरियाले विभिन्न समयमा तालिम दिएकोमा कोरियाली सरकारलाई धन्यवाद दिनुभयो ।


प्रतिक्रिया