माग पुरा गर्ने सरकारी प्रतिवद्धतापछि तोडियो अनसन


काठमाडौ– विगत ३८ दिनदेखि माइतिघर मण्डलामा रिले अनसन बसिरहेका चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीहरुले अनसन तोडेका छन् ।
स्वास्थ्यमन्त्री मोहन बस्नेतले संघर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको र चिकित्सा शिक्षा ऐन छिट्टै संसोधन हुने तयारीमा रहेको आवश्वासन दिएपछि १४ सुत्रिय माग राखेर अनसन बसेका उनीहरुले सडक संघर्ष स्थगित गर्न सहमत भएका हुन् ।
अनसन तोडाउन स्वास्थ्य मन्त्री बस्नेतले स्वकिय सचिव रामेश्वर आयार्च र रामचन्द्र दुलाललाई माइतीघर पठाएका थिए । मन्त्री बस्नेतका प्रतिनिधि आचार्यले अनसन बसिरहेका संघर्ष समितिका सदस्यहरुलाई जुस पिलाएर अनसन स्थगित गराएका थिए । अनसन स्थगित गरे पछि चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका वरिष्ठ पाँच जना पदाधिकारी वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेत सहित भएको वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेल, अतिरिक्त सचिव डा.विकाश देवकोटा, डा. टंक वाराकोटी लगायत थिए भने संघर्ष समितिको तर्फबाट संयोजक निर्मल सापकोटा, सहसंयोजक भुवनचक्र जोशी लगायतका पदाधिकारी सहभागी थिए ।
वार्तामा संघर्ष समितिका संयोजक सापकोटाले आफूहरुले उठाएका १४ वटा मागका बिषयमा मन्त्री बस्नेतलाई जानकारी गराउदै नेपालको चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफ्ना मागहरु सम्बोधन हुनु पर्नेमा जोड दिनुभएको थियो । स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरी अगाडि बढ्न सरकार तयार रहेको जानकारी गराउदै यस बिषयमा शिक्षा मन्त्री र प्रधानमन्त्री समेत सकारात्मक भएकोले संघर्ष समितिले उठाएका मागहरु चाडै संवोधन हुने बताउनुभएको थियो ।