सडकमै सुतेर राहत शिक्षकहरूको आन्दोलन


काठमाडौ– शिक्षक महासंघ र सरकारबीच भएको सहमतिमा असन्तुष्टी जनाउँदै राहत शिक्षकहरूले आज पनि आन्दोलन जारी राखेका छन् । उनीहरुले आज काठमाडौंको बबरमहलमा सडकमै सुतेर प्रदर्शन गरेका छन्।
सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै उनीहरूले काठमाडौ केन्द्रित आन्दोलनलाई जारी राखेका हुन् । राहत शिक्षकसँगै, बाल शिक्षक, विद्यालय कर्मचारीले आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् । यसअघि नारा जुलुस र प्रद्धर्शनसहित कोणसभामा गर्दै आएकोमा आजदेखि उनीहरुले सडकमा सुतेरै प्रद्धर्शनको नयाँ शैली अपनाएका हुन् ।
गत शुक्रबार सरकारले शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेको थियो । यो सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै आफूहरूको माग सम्बोधन नभएको बताएका थिए।
सरकारले शिक्षक कर्मचारीहरूलाई गुमराहमा राखेको र झारो टार्न यो सहमति गरेको राहत शिक्षकको ठम्याई छ । राहत शिक्षकको व्यवस्थापनको लागि परीक्षाको व्यवस्था गर्नुपर्ने उनीहरूले माग अघि सारेका छन् ।