रिगललाई आममाफी दिएको विरोधमा भारती अनशनमा


काठमाडौ– संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचनद्र पौडेलले बाँकेका योगराज ढकाल (रिगल) लाई आममाफी दिएपछि त्यसकाने विरोधमा भारती मानन्धरले आजदेखि अनशन सुरू गरेकी छन् । रिगल भारतीका श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका थिए । चेतनको हत्या अभियोगमा रिगललाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय दिइएको थियो । श्रीमानको हत्यारालाई पुनः जेल पठाउनुपर्ने मागसहित भारतीले बुधबार बिहानदेखि माइतीघर मण्डलमा अनशन सुरू गरेकी हुन्।
जुनसुकै बहानामा बीचमै हत्यारालाई आममाफी दिँदा अन्य हत्यारालाई प्रोत्साहन मिल्ने भन्दै राजनीतिक शक्तिको आडमा हत्याका घटना बढ्न सक्ने उनको भनाइ छ । २०७५ भदौ अघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको भन्दै सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । रिगललाई आममाफी दिएर छुटाइएको भन्दै सरकार र राष्ट्रपतिको सर्वत्र आलोचना भएको छ ।