`

उपराष्ट्रपतिसँग जर्मनी राजदूतको शिष्टाचार भेट

Nepal One HD १९ असोज २०८० १९:३५
राजनीति

काठमाडौँ, १९ असोज : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले शिष्टाचार भेट गर्नुभएको छ । आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उहाँहरूबीच नेपाल–जर्मनीबीचको कूटनीतिक सम्बन्धमा विषयमा छलफल भएको थियो ।

सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल र जर्मनीबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको र नेपालले यस सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो ।

“उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा सम्वाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–जर्मनी सम्बन्धका आधार स्तम्भ हुन्,” उहाँले भन्नुभयो, “जर्मनी नेपालको प्रमुख विकास साझेदार हो । नेपालले सामाजिक आर्थिक विकासका सवालमा जर्मन सरकारबाट सन् १९६१ देखि सहायता प्राप्त हुँदै आएको छ ।”

उपराष्ट्रपति यादवले कोभिड–१९ सङ्क्रमणको समयमा सहयोग प्रदान गरेकोमा जर्मन सरकारप्रति आभार व्यक्त गर्नुभयो । “युरोपेली सङ्घमा जर्मनीको अत्यन्तै प्रभावशाली भूमिका रहेको छ । हामी नेपाल र युरोपेली सङ्घ बीचको बढ्दो सहकार्यको स्वागत गर्दछौँ”, उहाँले भन्नुभयो, “दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न हामी प्रतिबद्ध छौँ । नेपालको विकासको पथमा मित्रराष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी आशावादी छौँ ।”

जलवायु परिवर्तनको क्षेत्रमा जर्मनीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले भन्नुभयो, “आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चमा हाम्रो सहकार्य निरन्तर कायम रहनेमा म आशावादी छु ।”

सो अवसरमा राजदूत प्रिन्जले नेपालको शान्ति र राजनीतिक स्थायित्वका लागि जर्मनीले निरन्तर सहयोग गर्दै र ऊर्जा, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकासमा मद्दत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले ८० नेपालीलाई व्यावसायिक प्रशिक्षणका लागि जर्मनी लगेको जानकारी दिँदै उहाँले यो क्रम आगामी दिनमा पनि जारी राख्दै यो सङ्ख्या पाँच सयसम्म पुर्‍याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया