`

आज नवरात्रको चौथो दिन–कुष्माण्डा स्वरूप नवदुर्गा भवानीको पूजा आराधना

Nepal One HD १ कार्तिक २०८० ११:५५
अध्यात्म

काठमाडौ– नवरात्रको चौथो दिन आज कुष्माण्डा स्वरूप नवदुर्गा भवानीको आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो । दोस्रो दिन पूजास्थलमा दोस्री ब्रह्मचारिणीलाई आह्वान गरी विधिपूर्वक पूजाराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टाको निष्ठाका साथ पूजाराधना गरिएको थियो ।


चौथो दिन बुधबार कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएका स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत लगायत देवीस्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गाको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।


प्रतिक्रिया