महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौ– नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
संघीय संसद् भवन नयाँबानेश्वरमा आज अपराह्न उनीहरुबीच भेटवार्ता भएको हो । सो अवसरमा महासचिव र अध्यक्षबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन लगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता डा राजन भट्टराईले जानकारी दिए ।
महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघका शान्तिकार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी थिए ।
महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान नेपाल आएका हुन् । उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
साथै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भ्रमणका क्रममा सोमबार उउनले नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने कार्यक्रम छ । यही कात्तिक १४ गते मंगलबार अपराह्न उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।
