नेपालको शान्ति प्रकृयामा सघाउन पाउँदा गौरव अनुभूति : महासचिव गुटेरेस
काठमाडौ– नेपाल भ्रमणमा रहेकासंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा गौरव अनुभूति भएको बताएका छन् । मंगलबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्रसंघले गौरव अनुभूति गरेको भन्दै नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्रसंघका तर्फबाट सम्मान व्यक्त गरे ।
नेपालले शान्ति प्रक्रिया अन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पु-याउन लागेकामा शुभेच्छा व्यक्त गर्दै उनले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुङ्गोमा पु¥याउन सुझाव दिए । गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताए । उनले जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रुपमा आर्थिक र सामाजिक सहयोग गर्नुपर्ने धारणा राखे ।
कार्वन उत्सर्जनमा नेपालको भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असर खेपिरहेकाले नेपाल समेतले यसको क्षतिपूर्ति स्वरुप विकसित मुलुकबाट जलवायु अनुकूल लगायत क्षेत्रमा सहयोग पाउनुपर्ने उनको भनाइ छ । गुटेरेसले नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनका लागि गर्दै आएको योगदान अविस्मरणीय रहेको भन्दै शान्ति मिसनका क्रममा मारिएका नेपाली सुरक्षाकर्मीको सम्मानमा मौनधारणा समेत गरे । महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैङ्गिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताए ।
महासचिव गुटेरेसले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा नेपालले चाल्ने कदमको सहजीकरणका लागि राष्ट्रसंघले भूमिका खेल्ने धारणा राखे । संयुक्त राष्ट्रसंघ र नेपालबीच रहेको लामो समयदेखिको सम्बन्ध थप प्रगाढका साथ अघि बढ्ने उनले बताए । कात्तिक १२ गते चार दिने नेपाल भ्रमणमा आएका महासचिव गुटेरेस बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।
