संघीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ : जसपा अध्यक्ष यादव
बारा– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता खारेज गर्न एउटा पक्ष लागिरहेको आरोप लगाएका छन् ।
दिपावली तथा छठ पर्वका अवसरमा बाराको तेलकुवा महादेव मन्दिरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता र समावेशी खारेज भए लोकतन्त्र खतरामा पर्ने बताएका हुन् । “संघीयता कार्यान्वयन गर्नका लागि पुलिस, कर्मचारी प्रशासन, आर्थिक स्रोत प्रदेशलाई हस्तान्तरण गरोस्, प्रदेशलाई अधिकार सम्पन्न गर्न कानुन बनाइयोस्”, अध्यक्ष यादवले भने । यादवले ५३ प्रतिशत जनसंख्या भएको मधेस प्रदेशलाई संघीय सरकारले जम्मा १२ प्रतिशतमात्रै बजेट विनियोजन गरेको भन्दै यहाँको विकास हुन कति वर्ष लाग्ला भनेर सोच्नुपर्ने गम्भीर विषय उब्जेको बताए ।
“हामीलाई अधिकार, सुशासन, प्रशासन आफ्नो चाहियो, संघीय सरकारले पठाएका प्रशासन हामीलाई चाहिदैन, संघीयताको अर्थ केन्द्रमा साझेदारी, प्रदेशमा आफ्नो शासन, प्रशासन हो, तबमात्र अधिकार सुरक्षित हुन्छ”, जसपा अध्यक्ष यादवले भने ।
उनले जथाभावी चुरे उत्खनन गर्दा त्यसको प्रत्यक्ष असर मधेस प्रदेशमा परेको बताउँदै चुरे क्षेत्रमा दोहन गरेर मधेसलाई मरुभूमि बनाउने कुनै निर्णय भए मधेसका जनतालाई पाच्य नहुने बताए । फरक प्रसङ्गमा अध्यक्ष यादवले वीरगञ्ज चिनी कारखाना, कृषिऔजार कारखाना, विराटनगर जुटमिल, हेटौँडा कपडा कारखाना, बाँसबारी जुत्ता, हटौँडा सिमेन्ट कारखाना चाँडोभन्दा चाँडो सञ्चालन गर्न सरकारसँग मागसमेत गरे ।
