`

प्रदेश र स्थानीय तहलाई संविधानले दिएको अधिकार प्रयोग गर्न दिनुपर्छ

Nepal One HD २४ कार्तिक २०८० १३:२७
प्रमुख खबर

काठमाडौ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको पूर्ण रुपले कार्यान्वयन गर्न तीनै तहका सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् । लौहपुरुष गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता सिंहले संविधान पूर्ण रुपमा कार्यान्वयनमा नआउँदै नकारात्मक टिप्पणी हुनु गलत भएको भन्दै तीनै तहका सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

उनले स्थानीय, प्रदेश र संघीय सरकारले प्रभावकारी काम गरे संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रति नकारात्मक टिप्पणी नहुने दावी गरे । नेता सिंहले संविधानसभाबाट जारी संविधानको रक्षार्थ वर्तमान गठबन्धन बनेको भन्दै दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने बताए ।

असंवैधानिकरूपमा संसद् विघटन गरिएको र कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार भएका कारण उक्त संविधान जोगाउन गठबन्धन बनेको दाबी समेत गरे । जनतालाई अधिकार सम्पन्न बनाउन गणेशमान सिंह सदैव लडेको स्मरण गर्दै कसैबाट पनि जनअधिकार कुण्ठित गर्ने कुरा स्वीकार्य नहुने भएकाले प्राप्त अधिकार रक्षार्थ सबै एकजुट भएर अघि बढ्नु नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ थियो ।


प्रतिक्रिया