राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न पर्वहरूको महत्वपूर्ण भूमिका रहने– प्रधानमन्त्री
काठमाडौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरूको महान पर्व दीपावलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताहरूको संगमस्थलका रूपमा रहिआएको विविधतायुक्त संस्कार, संस्कृति र पर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभएर देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण आधारहरू समेत भएको बताएका छन् ।
उनले नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदाहरु ऐतिहासिकतामा आधारित रहँदै आएको र यस्ता पर्वहरूभित्र श्रमप्रति सम्मान, सामाजिक भावना, मित्रता, सामाजिक सहअस्तित्व एवं मानवीय जीवनमा आइपर्ने चुनौतीहरूमाथि सहकार्य र एकताका आधारमा विजय हासिल गर्ने विचार र व्यवहार अन्तर्निहित रहेको बताएका छन् । तिहार लगायतका पर्वहरू विश्व समुदायमा नेपालको विशिष्ट पहिचान झल्काउने महत्वपूर्ण सन्दर्भसमेत रहेको प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले तिहार पर्वले पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र एकता एवं राष्ट्रिय स्वाधीनता बलियो तुल्याउने, उत्पादन, श्रम, सूचना र सामाजिक रक्षकको भूमिका निर्वाह गर्ने पशुपञ्छीहरूको योगदान र मानिससँगको अन्तरक्रिया प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
उनले देउसी भैलो लगायतका सांस्कृतिक क्रियाकलापले उल्लासमय वातावरणका साथै संस्कृति प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत व्यक्त गरेका छन् । नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न आधार प्रदान गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहार लगायतका पर्वहरूको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका छन् ।
