वामपन्थी शक्तिको एकता पपुलिष्ट कुरा मात्रै हो, संभव छैन– अध्यक्ष ओली
काठमाडौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपयुक्त ढंगले देश चलाउन नसके प्रधानमन्त्रीले सरकार छोड्नुपर्ने बताएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको कमजोरीका कारण प्रतिगामी शक्तिहरुलाई हौसला मिलेको भन्दै उपयुक्त ढंगले देश चलाउन नसके प्रधानमन्त्रीले सरकार छाड्नुपर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले सरकारका कारण देश संकटमा परेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता आफूले देखेको जिकिर गरे । देशलाई अगाडि बढाउने जिम्मा एमालेले लिने भन्दै उनले आवश्यक परे जनताले सडकाबाटै निर्णय लिन सक्ने चेतावनी दिए ।
उनले पछिल्लो अढाई बर्षमा मुलुकको स्वाधीनता अपहेलित अपमानित र तिरस्कृत भइरहेको भन्दै यो राष्ट्रका लागि शोभनिय र सम्मानजनक नभएको बताए । अहिले राष्ट्रहित नभई सत्ता स्वार्थलाई प्राथमिकतामा राख्दा मुलुक संकटको अवस्थामा पुगेको उनले बताए ।
अध्यक्ष ओलीले वामपन्थी एकता गर्दा पार्टी फुट्ने भएकाले व्यवहारिक रुपमा सम्भव हुन नसक्ने स्पष्ट पारे । वामपन्थी शक्तिको एकता पपुलिष्ट कुरा भएकाले यस्ता कुरा नगर्न समेत उनले आग्रह गरे । उनले एमालेको नीति र संगठनलाई स्वीकार गरेर मात्र एकता गर्न सकिने तर, दुई वटा अध्यक्ष राखेर एकता हुन नसक्ने जिकिर गरे ।
अध्यक्ष ओलीले महिलाहरूमाथि दुव्र्यवहार भएको घटनामा युवा संघको संलग्नता नरहेको जानकारी पाएको बताए । उनले बदनाम गर्ने र चरित्र हत्या गर्ने कोसिसलाई चिर्न र खण्डन गर्न पार्टी पङ्तीलाई निर्देशन समेत दिए ।
