सरकारले राम्रो काम गर्न नसक्दा अराजकता बढ्यो– अध्यक्ष ओली
काठमाडौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्न नसकेकाले देशमा अराजकता बढेको आरोप लगाएका छन् । नेपाल सम्वत ११४४, तिहार र छठ पर्वको अवसरमा एमाले काठमाडौं महानगरपालिका कमिटीले शनिबार बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सरकारले राजनीतिलाई अराजक बनाएको र सुशासन कायम गर्न नसकेको आरोप लगाए ।
सरकारले नै गुन्डाहरूलाई प्रश्रय दिएको आरोप लगाउँदै उनले सरकारले गरेको गल्तीको भागेदार सरकारमा रहेका दलहरु नै हुने बताए । अध्यक्ष ओलीले व्यक्तिमा खराबी हुन सक्ने भन्दै लोकतन्त्र र गणतन्त्र कहिल्यै खराब हुन नसक्ने तर्क गरे । देशमा राजतन्त्रको कल्पना सम्मपनि गर्न नसकिने र अब ढुंगे युगतिर फर्किन नसक्ने बताउदै ओलीले जन्मिँदै कोही राजा बन्ने कुरा जनतालाई स्वीकार्य नहुने जिकिर गरे ।
उनले पुराना इतिहासको सकारत्मक कुरालाई सम्मान गर्दै अघि बढ्नुपर्ने धारणा राखे । जनतालाई जात धर्मको नाममा बिभाजित गर्ने प्रयास गरेर अहिले देशका बिरुद्ध षडयन्त्र भइरहेकाले देशको रक्षाका लागि नेकपा एमाले जनतालाई साथमा लिएर अग्रपङ्गीमा उभिएर लड्न तयार रहेको उनको भनाइ छ ।
