एमालेको एकल बहुमत आएमात्रै देश समृद्ध हुन्छ : अध्यक्ष ओली
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत आएमात्रै देश समृद्ध हुने दाबी गर्नुभएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा शनिबार फिदिममा आयोजित बृहत् आमसभामा बोल्दै ओलीले एमालेको एकल बहुमतले मात्रै राष्ट्रिय स्वाभिमान र विकासको समृद्धि आउने उहाँले बताउनुभयो ।
एमाले सधैं राष्ट्रियताको रक्षाको पक्षमा रहेको बताउँदै ओलीले जनताको मनोबल माथि उठाउन र विश्वास बढाउन समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको बताउँनुभयो । उहाँले एमाले सरकारबाट हटेपछि देशमा अस्थिरता, अराजकता, र अशान्ति बढेर गएको बताउनुभयो । एमाले फुटाउन र सिद्धाउन प्रयास गरिएको भए पनि एमाले त्यसलाई चिर्दै देशको पहिलो राजनीतिक शक्ति बनेको उहाँले बताउनुभयो ।
उहाँले एमालेको एउटै उद्देश्य र गन्तव्य देशको हित भएको बताउनुभयो । आर्थिक हिसाबले देशमा उत्पादन घटेको, युवा विदेश पलायनको दर बढेको र युवालाई सरकारले देशमा बस्ने आधार नै दिन नसकेको उहाँले बताउनुभयो ।
