बालकुमारी घटना सामान्य नभएकाले गम्भीरतापूर्वक छानविन गर्नुपर्छ : प्रवक्ता सापकोटा
काठमाडौँ / नेकपा माओवादी केन्द्रले पार्टीको विशेष रुपान्तरण अभियानले नयाँ आशा र उत्साह पैदा भएको निष्कर्ष निकालेको छ ।
मंगलबार पार्टी कार्यालय पेरिसडाडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्नि सापकोटाले पार्टीको चारमहिने विशेष रुपान्तरण अभियानका कारण संगठन क्रियाशिल भएको र पार्टीलाई अघि बढ्ने आधार भएको समेत बताए । उनले अभियानको प्रतिवेदन तयार भइरहेको र केन्द्रमा आइसकेपछि थप छलफल गरिने बताए ।
अभियानका क्रममा पार्टीबाट पलायन हुने क्रम रोकिएको देखिएको र माओवादी प्रवेश गर्नेको संख्या पनि बढ्दै गएको उनले दावी गरे । सापकोटाले अन्तर्विरोध हल हुँदै गएको मूल्याङ्कनको आधार धेरै राम्रो भएको बताए ।
त्यस्तै उनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धन गरेरै अघि बढ्ने भन्दै सिट बाँडफाँटमा छलफल सुरु भएको जानकारी दिए । मन्त्रिपरिषद् फेरबदलका बिषयमा पनि गठबन्धन दलहरुबीच छलफल भएको उनको भनाइ छ ।
प्रवक्ता सापकोटाले बालकुमारी घटना सामान्य नभएकाले गम्भीरतापूर्वक छानविन गर्नुपर्ने बताए ।
