`

न्याय, सुशासन र समृद्धिको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रधानमन्त्रीको दावी

Nepal One HD १ माघ २०८० १४:४३
प्रमुख खबर

अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पछिल्लो कार्यकालमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरु भएको दावी गरेका छन् । आज नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित अर्घाखाँची पर्यटन प्रवद्र्धन कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो एक बर्षमा देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन भएको र सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरु भएको दावी गरेका हुन् ।

आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धीमुलक बनाउने उनले बताए । प्रधानमन्त्री प्रचण्डले पछिल्लो एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा राम्रो सुधार हुँदै गएको बताउँदै उद्योगी व्यवसायीहरूलाई उत्साही भएर काम गर्न आग्रह गरे । बैंकको ब्याजदरमा कटौती, सहकारी र लघुवित्तका समस्याको सम्बोधन, भुक्तानी सन्तुलन, विप्रेषणमा वृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, अवैध सुन तस्करी प्रकरण लगायतका अनियमितताको छानविन गरी कानुनी कार्वाही अगाडि बढाइएको जिकिर गरे ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले अर्घाखाँचीको विकास र समृद्धिका निम्ति आफ्नो ठाउँबाट सम्भव योगदान गर्दै आएको बताए । जिल्लामा बढ्दै गएको बसाइसराई रोक्न र जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन कार्यक्रम आयोजना गरिएको पत्रकार महासंघ अर्घाखाँचीले जनाएको छ ।


प्रतिक्रिया