त्रिशुलीमा खसेको गाडीका चालक सकुशल


चितवन । मुग्लिन–नारायणगढ सडक खण्डबाट मंगलबार बिहान त्रिशुली नदीमा खसेको गाडीका चालक सकुशल रहेका पाइएको प्रहरीले जनाएको छ । इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट मंगलबार बिहान त्रिशुली नदीमा गाडी खसेको थियो ।
मंगलबार बिहान भारतीय नम्बर प्लेट बी आर ०९ जी सी १४३९ भएको गाडी त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए। गाडी सडकबाट करिब १०० मिटर तल नदीमा खसेको थियो ।
स्थानीयले गाडी खसेको जानकारी गराएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो। सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहित १० जना र नम्बर १७ गण चितवनबाट इन्सपेक्टरको कमाण्डमा १३ जनाको फौज परिचालन भएको थियो । सशस्त्र प्रहरीका गोताखोरले नदी भित्र छिरेर खोजी गर्ने क्रममा भारतीय नम्बर प्लेटको बोलेरो गाडी भेटिएको थियो। गाडी भेटिए पनि त्यसका चालक वा सवार व्यक्ति भेटिएका थिएनन् ।
प्रहरीले गाडीका चालक सकशुल रहेको सूचना पाएको जनाएको छ। गाडीका चालकले दुर्घटना हुँदा हाम फालेर ज्यान जोगाएको र पछि उनी अर्को गाडी चढेर दुर्घटनास्थलबाट अन्यत्र गएको भनेर प्रत्यक्षदर्शीले जानकारी दिएको मुग्लिन ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक टंक शिवाकोटीले जानकारी दिए ।