`

सरकारलाई सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर हुन रास्वपाको ध्यानाकर्षण

Nepal One HD २ माघ २०८० १६:०८
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ध्यानाकर्षणपत्र बुझाएको छ । मंगलबार रास्वपाका सहमहामन्त्री सुमना श्रेष्ठ, सचेतक निशा डाँगी र पूर्वाधार विभागका सचिव कृष्ण भेटवालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई ध्यानाकर्षणपत्र बुझाउँदै दुर्घटना न्यूनीकरणका लागि सरकारलाई दबाब दिएका हुन् ।

पुस २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौंको चन्द्रागिरी र बाग्लुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा १९ जनाको ज्यान गएको सन्दर्भ उल्लेख गर्दै रास्वपाले सरकारको ध्यानाकर्षण गराएको हो ।

दुर्घटनाहरुप्रति सरकार गम्भीर नभएको भन्दै सवारी दुर्घटनाको भयावह अवस्था, दुर्घटनाकै कारण बेहोर्नु परिरहेको सामाजिक र आर्थिक समस्या तथा दुर्घटना न्यूनीकरणमा सरकारका योजना र कार्यक्रमबारे सरकार, विज्ञ र सरोकारवालासमेतको उपस्थितिमा छलफल गरी निष्कर्षमा पुग्न बाञ्छनीय देखिएकाले आवश्यक व्यवस्था वा निर्देशनका लागि मन्त्रीसमक्ष आग्रह गरिको रास्वपाले जनाएको छ ।

यसवर्षको मंसिरसम्म मात्र देशभर साना–ठूला गरी करिब १० हजार ७ सय ४५ वटा दुर्घटना भएको प्रहरीको तथ्यांक पनि ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । ती दुर्घटनाहरुमा ९ सय १६ जनाले ज्यान गुमाएका, दुई हजार ७ सय ९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका जनाइएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार दैनिक सरदर ५४ वटा दुर्घटना हुन्छन् र तिनमा ६ जनाको मृत्यु, १४ जना गम्भीर घाइते हुन्छन् ।


प्रतिक्रिया