पूर्वडीआईजी शाहले अदालतको फैसलामाथि उठाए प्रश्न, आफू निर्दोष रहेको जिकिर
काठमाडौं । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहले न्यायालयमाथि प्रश्न उठाएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले आफू निर्दोष भएके दाबी गरेका हुन् । उनले आफूलाई दोषी ठहर गरिएको विशेष अदालतको फैसलाको पूर्णपाठ आएपछि पुनरावेदनमा जाने बताएका छन् ।
उनले लेखेका छन्, ‘जीवनभर प्रमाणको महत्त्वबारे हजारौँ शिष्यहरूलाई ज्ञान दिने म आज बल्ल थाहा पाउँदै छु– वैज्ञानिक परीक्षणबाट स्थापित सत्यतथ्य पनि हाम्रो न्यायालयका लागि प्रमाण हुँदा रहेनछन् । सम्बद्ध विषयका वैज्ञानिकहरूले प्रयोगशाला परीक्षणबाट प्रमाणित गरेको तथ्यलाई प्रमाण मान्ने कि नमान्ने ? यो कुनै व्यक्तिको इच्छामा भर पर्ने विषय हो वा सत्यतथ्यको सम्मान गर्नुपर्ला ? यस्ता कुरा विद्वत् बहसबाट निरूपण हुनु आवश्यक छ । नत्र, विश्वमै उत्कृष्ट मानिएको हाम्रो लोकतान्त्रिक तथा न्यायिक समाज र मध्ययुगीन बर्बर समाजमा कुनै भेद रहने छैन । यस्ता गैरव्यावसायिक निर्णयबाट हामीजस्ता सचेत नागरिक त सिकार हुँदा रहेछौँ, आमजनमानसको अवस्था के होला ? यसैबाट प्रष्ट हुन्छ ।’विशेष अदालतले पूर्वडीआईजी शाहलाई तीन वर्ष जेल सजाय सुनाएको छ ।
