परिवर्तन उल्ट्याउने खेल भइरहेको छः नेता सिंह
विराटनगर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्राप्त राजनीति उपलब्धी जोगाउँदै अब आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको कार्यक्रममा नेता सिंहले कांग्रेसको नेतृत्वमा जनताले गुमेको अधिकार फिर्ता पाएको भन्दै अब कांग्रेसले नै समृद्धिको अभियानको नेतृत्व लिनुपर्ने बताए ।
०४६ को परिवर्तनपछि प्राप्त भएका उपलब्धी उल्टाउने खेल भइरहेको भन्दै उनले त्यस्तो प्रयास सफल नहुने दाबी पनि गरे । उनले संविधानसभाबाट बनेको संविधान आमनागरिकले उपयोग गर्ने अवस्था बनाउनु कांग्रेसको जिम्मेवारी भएको बताए ।
संघीय लोकतान्त्रीक गणतन्त्रात्मक समावेशी संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै उनले संविधानले दिएका अधिकार जनतामा पुर्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । उनले परिवर्तन विरोधीहरूले त्यसलाई समाप्त पार्न पहिला कांग्रेसलाई कमजोर पार्न चाहिरहेको भन्दै पार्टी बलियो बनाउनुपर्ने ।
सिंहले कोशी प्रदेशबाट गठबन्धन उम्मेदवार जिताउनका लागि लाग्न आग्रह पनि गरे । उनले कांग्रेस उमेदवार कृष्ण सिटौलालाई भेटेरै कोशी प्रदेशको अवस्थाबारे जानकारी लिँदै जितको शुभकामना समेत दिएका छन् ।
