`

नैतिकवान् जनशक्ति उत्पादनमा बौद्ध विश्वविद्यालय क्रियाशील

Nepal One HD १९ फागुन २०८० १८:२०
राजनीति

लुम्बिनी, १९ फागुन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका सहकुलपति अशोककुमार राईले बौद्ध विश्वविद्यालय एउटा विशिष्टीकृत विश्वविद्यालय भएकाले यसको आफ्नै महत्व रहेको बताउनुभएको छ ।

उक्त विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को अध्यक्षतमा आज लुम्बिनीमा भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको १५औँ सभा बैठकलाई सम्बोधन गर्दै शिक्षामन्त्री राईले यो विश्वविद्यालय मुलुकको मात्रै नभई अन्तर्राष्ट्रिय चासो र सरोकारको विश्वविद्यालय हो भन्नुभयो । यसले विश्वसमुदायलाई शान्तिको सन्देशसहितको बौद्ध शिक्षा फैलाउने र मुलुकका लागि दक्ष, सीपयुक्त र नैतिकवान् जनशक्ति उत्पादनमा निरन्तर काम गर्दै आएको बताउनुभयो ।

शिक्षामन्त्रीले नेपालमा अनेकौँ पुरातात्विक क्षेत्र रहेका र त्यसको उत्खननका लागि आफ्नै मुलुकका जनशक्ति प्रयोग अपरिहार्य भएको बताउनुभयो । उहाँले कपिलवस्तुको तिलौराकोट क्षेत्र, नवलपरासीको रामग्राम क्षेत्रलगायत लुम्बिनीकै पनि अझै धेरै बौद्ध पुरातात्विक क्षेत्रको उत्खननमा लुम्बिनी बौद्ध विश्वविद्यालयका जनशक्ति प्रयोग गर्ने गरी मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागले योजना बनाउनुपर्ने बताउँदै यसबाट विश्वविद्यालयमा विद्यार्थीको आकर्षण हुनुका साथै पुरातात्विक वस्तुको उत्खननमा छोटो समयमा ठूलो उपलब्धि हासिल हुने र मुलुकले दक्ष जनशक्ति प्राप्त गर्ने बताउनुभयो ।

मन्त्री राईले बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई बौद्ध शिक्षा, साहित्य, कला, इतिहासको अध्ययनअध्यापन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्र बनाउने ध्येयलाई भुल्न नहुनेमा जोड दिनुभयो । बौद्ध शिक्षामार्फत राष्ट्रिय शिक्षा विकासमा योगदान पु¥याउन योजनाबद्ध ढङ्गबाट अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो ।

यसअघि प्रधानमन्त्री दाहालले लुम्बिनी विकास कोष परिसरभित्र निर्माण भएको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्नुभयो । करिब रु २२ करोड लागतमा बनेको भवनमा उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यालय रहनेछ ।


प्रतिक्रिया