`

गठबन्धन फेरबदल गरेर प्रधानमन्त्रीले जनमतको अपमान गर्नुभयोः प्रमुख सचेतक लेखक

Nepal One HD २४ फागुन २०८० १३:५०
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा भएका सहमतिलाई तोडेर एकतर्फीरुपमा गठबन्धन तोडेको आरोप लगाएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मुलुकको दिगो शान्तिका लागि गरिएको गठबन्धन भत्काएर प्रधानमन्त्री दाहालले कांग्रेसको मात्रै नभइ लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध कुठराघात गरेको आरोप लगाएका हुन् । उनले गठबन्धन फेरबदल गरेर प्रधानमन्त्रीले जनमतको अपमान गरेको बताए ।

उनले भने, ‘जनताले दिएको आफ्नो जिम्मेवारी बाट भाग्ने काम भयो । यो राजनीतिक बेइमानी हो । मुलुकलाई श्रृखलाबाद्ध अस्थिरतातर्फ लैजाने काम भयो । मुलुकमा दिगो शान्ति, सुशासन, संविधानको रक्षा विकास र समृद्धि प्राप्त गर्ने राजनीतिकलाई स्थिरता साथ अगाडि बढाउने हाम्राबीच सहमति भएका थिए। प्रचण्डजीले गठबन्धनको मूल्य र मान्यतालाई भत्काएर गठबन्धनमा भएका सहमतिलाई तोडेर एकतर्फीरुपले अविश्वासनीयरुपले गठबन्धन तोड्नुभयो। त्यो हाम्रो ठहर हो।’

उनले निर्वाचनका समयमा नेपाली जनताका बीचमा बोलेका बाचाहरू, प्रतिज्ञाहरूलाई वेवास्ता गर्दा नेपाली कांग्रेसप्रति मात्रै विश्वासघात नभई यो संविधान संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्ध कुठराघात भएको बताए । लेखकले गठबन्धनका नाममा प्रधानमन्त्री प्रचण्ड आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको आरोप लगाए ।


प्रतिक्रिया