नेपालका प्रधानमन्त्रीले जबसम्म यतिधेरै उदाशिनता राख्छन्, त्यो बेलासम्म बजेट काम लाग्ने डकुमेन्ट हुँदैन: महामन्त्री थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटले नयाँ चरणको आर्थिक सुधारको मार्ग चित्रण नगरेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा महामन्त्री थापाले बजेटमा प्रधानमन्त्रीले नै चासो नराखेकाले कुनै आशावादी हुने ठाउँ नरहेको बताएका हुन् । उनले सरकारले बजेटमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यको आधार नभएको बताए ।
उनले अर्थमन्त्री वर्षमान पुनले ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर गरेको दाबीको आधार माग गरे । उनले भने, ‘जुन खालको एउटा सृजनशीलता चाहिने हो, त्यो अर्थमन्त्रीमा मात्र हैन प्रधानमन्त्रीमा पनि देखिएन । बजेट निर्माण गर्दैगर्दा प्रधानमन्त्रीले कुनै चासो राखेको पाइनँ । कुनै कुरामा संलग्न भएको पाइनँ । नेपालका प्रधानमन्त्रीले जबसम्म यतिधेरै उदाशिनता राख्छन्, त्यो बेलासम्म बजेट काम लाग्ने डकुमेन्ट हुँदैन ।’
उनले बजेटबारे बोल्ने विषयमा आफू अलमलिएको बताए । महामन्त्री थापाले सरकारमा सहभागी सबैभन्दा ठूलो दलको नेताले नै बजेट माओवादी पार्टी र अर्थमन्त्रीको बताएपछि स्वामित्व कसले लिने भनेर प्रश्न गरे ।
उनले भने, ‘यो बजेटमा गठबन्धनको मुख्य दल एमालेका जर्साब, कर्साबहरूले के भन्नुभयो भन्ने मेरो धेरै टिप्पणी छैन । तर, प्रधानसेनापतिले नै यो बजेट हाम्रो होइन, रंग मिल्दैन भनेपछि यसको स्वामित्व कसले लिन्छ ?’
महामन्त्री थापाले संसदमा धेरै उथलपुथल भएको भन्दै ६/८ महिनापछि आफैँले काँध हाल्नुपर्ने हुनसक्ने टिप्पणी गर्दै बजेटबारे अर्थमन्त्रीलाई प्रश्न मात्रै गर्दा जोगिने अवस्था नरहेको बताए ।
उनले बजेटमा राजस्वको अनुमान १४ खर्ब १९ अर्ब राखिएको र लिएको लक्ष्य सबैभन्दा उच्चवृद्धि हुनुपर्ने बताए । करिब ३४ प्रतिशत वृद्धि भएमात्रै सरकारले लिएको लक्ष्य भेटिने जिकिर गरे ।
उनले एउटै पार्टीको अर्थमन्त्री र अर्थ सचिव उही हुँदा करका विषयमा वर्षैपिच्छे फरक आउँदा आशंका गर्ने ठाउँ प्रशस्त रहेको पनि बताए ।
उनले भने, ‘चाहे आलु प्याजको विषय होस्, चाहे ईभीको कुरा होस्, चाहे स्पन्ज आइरनको विषय होस्, त्यो अर्थ मन्त्रालयका केही मान्छे कुनामा बसेर करका दर चलाउने विषय होइन । कुनमा कर छुट दिने कुनमा लगाउने भन्ने विषय दुई चारजना मान्छे बसेर गर्ने कुरा होइन, यसमा प्रश्नहरू छन्, आशंकाहरू छन् । अहिलेका अर्थमन्त्रीकै पार्टीका अर्का नेता अर्थमन्त्री भएका बेलामा र अहिलेकै अर्थसचिव सचिव भएका बेला स्पन्ज आइरनमा भन्सार सहुलियत दिइएको थियो । त्यसबेला यही संसदमा ठूलो छलफल भएको थियो । त्यसबेला निजी क्षेत्रले ३४/३५ अर्ब लगानी गर्छ त्यही भएर यो दर कायम गरेको भनियो । त्यसपछि निजी क्षेत्रले लगानी पनि गर्यो ।आज अर्थमन्त्री त्यही पार्टीको हुनुहुन्छ, सचिव त्यही हुनुहुन्छ, नीति चाहिँ बदलियो । नीतिगत स्थायित्व भन्ने केही हुँदैन ? भोलि अर्को अर्थमन्त्री आउनुहुन्छ, उहाँलाई सनक चढ्यो, फेरि पहिलेजस्तै बनाइदिन्छु भन्न पाउने कि नपाउने ?’
उनले चिनियाँ गाडीको विषयमा बजेटमा राखिएकोबारेमा स्पष्ट पार्न आग्रह गरे । उनले भने, ‘चिनियाँ गाडीको बारेमा विधेयकमा किन घुसाउनु भएको हो, जान्न चहान्छु ।’
उनले अहिले नेपालको अर्थतन्त्रलाई कडा रोग लागेको भन्दै यसको उपचार सबै मिलेर खोज्नुपर्ने बताए । उनले भने, ‘अर्थतन्त्रमा कडा रोग लागेको छ । यो रोग रातारात लागेको हैन । यसमा हामी सबै जिम्मेवार छौँ । म कसैलाई दोष चिन चहान्नँ । यो संरचना नबदलिकन हुँदैन ।’
पूर्वाधार विकासमा आवश्यक लगानी हुन नसक्दा विकासका आयोजना नै अधुरा रहेको सांसद थापाको भनाइ छ । खर्चको गुणस्तर र पूर्वाधार निर्माणपछि गुणस्तरीय पक्षलाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
‘आगामी आर्थिक वर्षमा सिक्टा आयोजनाका लागि रु तीन अर्ब रकम माग भएकामा एक अर्ब ६० करोड विनियोजन भएको छ, अब यो आयोजना बन्न वर्षौं लाग्छ’, उनले भने, ‘सिँचाइ आयोजनामा लगानी घटाएर कृषि दशकको लक्ष्य हासिल गर्न सकिँदैन ।’