अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता
काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता छ ।भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशङ्करबीच नयाँदिल्लीमा भेटवार्ता भएको हो । भेटमा नेपाल–भारतबीच रहीआएको भरपर्दो सम्बन्धलाई थप उन्नयन र समुन्नतितर्फ अगाडि बढाउने विविध विषयमा छलफल भएको छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार भेटमा मन्त्री डा वाग्लेले रसुवामा भर्खरै गएको आकस्मिक बाढीपछिको उद्धार तथा राहतकार्यमा पुर्याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
भेटमा नेपाल–भारतबीचको दीर्घकालीन मित्रतालाई अझ प्रगाढ बनाउने तथा विशेषगरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायहरूमाथि उहाँहरूले छलफल गर्नुभएको थियो ।
यसअघि अर्थमन्त्री डा वाग्लेले शुक्रबार भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गर्नुभएको थियोे । भ्रमणको पहिलो दिन उहाँले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेट गर्नुभएको थियोे । सो क्रममा उहाँहरूबीच द्विपक्षीय आर्थिक हित र सहकार्यका सन्दर्भमा छलफल भएको थियोे ।
