`

देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

Nepal One HD २ असोज २०८३ २०:२८
राजनीति

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।अखिल नेपाल किसान महासङ्घद्वारा आज आयोजित कार्यक्रममा उहाँले दिगो कृषि अभ्यास नेपाली किसानका लागि सबैभन्दा महत्त्वपूर्ण रहेको बताउँदै किसानले दैनिक जीवनमा भोगेका समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

उत्पादनलाई अनुकूलन गर्नु र खेतीलाई बढी लाभदायक बनाउनु अहिले ठूलो चुनौती रहेको बताउँदै संयोजक दाहालले प्रविधिको माध्यमबाट किसानलाई दिगो, पर्यावरणमैत्री र लाभदायक खेती गर्न प्रेरित गर्न सकेमा कृषि औद्योगिकरणको विकास गर्न सकिने उल्लेख गर्नुभयो ।

उहाँले आफू पनि किसान सङ्गठनमा काम गरेको स्मरण गर्दै कृषि क्षेत्रले ठूलो सङ्ख्यामा रोजगारीका अवसर सृजना गर्ने तथा कृषि उत्पादन वृद्धिले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने विचार व्यक्त गर्नुभयो ।

पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषि क्षेत्रमा गरिने खर्चले उत्पादन वृद्धि हुने र किसान वर्गको जीवन सुदृढ गर्ने बताउँदै त्यसले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वदेशी वस्तुलाई देशमा खपत गर्न सकेमा आयात प्रतिस्थापनमा सहयोग पुग्ने र विदेशिने अर्थतन्त्रलाई स्वदेशमै परिचालन गर्न सकिने बताउनुभयो ।रोजगारी तथा राष्ट्रिय उत्पादन वृद्धि गर्न सरकारले कृषि, पर्यटन तथा पूर्वाधारलगायत उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो ।

महासङ्घका अध्यक्ष बलदेव चौधरीले निर्यातमूलक कृषि उद्योगलाई सरकारले सहुलियत उपलब्ध गराउन आग्रह गर्दै नेपाली हावापानीमा हुने उत्पादन गुणस्तरीय हुने गरेकाले अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको बताउनुभयो ।उहाँले सरकारले सिँचाइ, रासायनिक मल, बीउबिजन, नवीनतम् प्रविधिमा सहुलियत उपलब्ध गराउन माग गर्नुभयो । सो अवसरमा उद्यमी भगवान कार्कीलगायत उत्कृष्ट किसानलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *