भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, नयाँ दिल्लीमा उच्चस्तरीय कूटनीतिक गोलमेचलाई सम्बोधन
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गरेका छन्।
शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी)मा आयोजित ‘डिप्लोमेटिक राउन्डटेबल’मा अर्थमन्त्री वाग्लेले सम्बोधन गरेका हुन्।
कार्यक्रममा भारतका पूर्वविदेश सचिव तथा नेपालका लागि पूर्वराजदूत श्याम शरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्यसभा सदस्य जयराम रमेश, पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्वविदेश सचिव शिवशंकर मेनन, पूर्वउपराष्ट्रिय सुरक्षा सल्लाहकार एवं कूटनीतिज्ञ पंकज शरणलगायत सहभागी थिए।
त्यस्तै, प्रख्यात अर्थशास्त्री तथा जवाहरलाल नेहरू विश्वविद्यालयका एमेरिटस प्रोफेसर एवं दिल्ली विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. दीपक नायर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसन (आईटीपीओ)का अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित राय, भारतीय जनता पार्टी (भाजपा)को विदेश मामिला विभागका प्रमुख डा. विजय चौथाइवाले पनि संवादमा सहभागी थिए।
कार्यक्रममा दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटी अध्येता डा. कन्स्ट्यान्टिनो जेभियर, भारतीय विदेश मन्त्रालयकी निर्देशक मनुस्मृति, ‘द हिन्दू’की कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदरसहित नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो।
