राष्ट्रिय सभा सदस्य पोर्तेलको प्रश्न : के सिंहदरबार जलाउन जाँदा मात्रै हो राष्ट्रिय झण्डा बोक्ने?
काठमाडौं। भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भएको वार्तामा नेपाली राष्ट्रिय झण्डा नराखिएको विषयमा नेकपा एमालेका नेता तथा राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेलले प्रश्न उठाएका छन्।
वाग्लेले सीतारमणसँग ‘वान टु वान’ तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका थिए। ‘वान टु वान’ भेटमा भारतीय अर्थमन्त्रीको छेउमा भारतीय झण्डा राखिएको भए पनि नेपाली अर्थमन्त्रीतर्फ नेपाली झण्डा राखिएको थिएन। यस्तै, दुवै देशका प्रतिनिधिमण्डलबीच भएको वार्तामा पनि भारतीय झण्डा मात्र राखिएको तस्बिर सार्वजनिक भएको छ।
यस विषयमा प्रतिक्रिया दिँदै पोर्तेलले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘के सिंहदरबार जलाउन जाँदा मात्रै हो राष्ट्रिय झण्डा बोक्ने ?’
नेपाल-भारत औपचारिक द्विपक्षीय वार्तामा नेपाली झण्डा नराखिएको विषयलाई लिएर यसअघि पनि पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले आपत्ति जनाउँदै कूटनीतिक प्रोटोकलमा गम्भीर चुक भएको बताएका थिए।
