`

चोरी मुद्दामा पाँच वर्ष कैदसजाय भुक्तान गरेर छुटेका व्यक्ति अर्को चोरीको घटनामा पक्राउ

Nepal One HD २५ साउन २०८१ १९:२८
समाचार

सुदूरपश्चिम, २५ साउनः चोरी मुद्दामा कैदसजाय भुक्तान गरिसकेका धनगढी उपमहानगरपालिकाका एक व्यक्तिलाई अर्को चोरीको घटनामा प्रहरीले पक्राउ गरेको छ । उपमहानगरपालिका–१८ फूलबारी टोलका ३१ वर्षीय हर्कबहादुर गिरीलाई चोरी गरेर राखेका चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायललगायत गरगहना, सिक्का, घडी र रु छ हजार एक सय ३५ सहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कार्यालयका सहप्रवक्ता लोकेन्द्र कार्कीले धनगढी उपमहानगरपालिका–४ का योगेन्द्र ओझाको घरबाट नगद रु २५ हजार, ५०÷६० तोला चाँदी र १४÷१५ तोला सुनका गरगहना चोरी भएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निज गिरीलाई उक्त चाँदीका गरगहनासहित पक्राउ गरिएको बताउनुभयो । 

ओझाको घरमा यही साउन २३ गते चोरी भएको जनाइएको छ । धनगढी उपमहानगरपालिका–१ का अमन नेपाली नामका व्यक्ति बस्ने घरको कोठाबाट पक्राउ परेका गिरीले चोरी गरेका चाँदीका गरगहना सहितका सामग्री सोही ठाउँका आशा भण्डारीको घरमा राखिएको अवस्थामा बरामद गरिएको हो । 

“गिरीमाथि अनुसन्धान भइरहेको छ,” प्रहरी निरीक्षक एवं सहप्रवक्ता कार्कीले भन्नुभयो, “सुन र सुनका गरगहना चोरी भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।”  चोरी मुद्दामा पाँच वर्ष कैदसजाय भुक्तान गरेर गिरी यही साउन १७ गते कारागारबाट छुटेको जनाइएको छ ।

प्रतिक्रिया