नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी ओमानका विदेश मन्त्री स्वदेश प्रस्थान
काठमाडौँ, ११ भदौः ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी आज काठमाडौँबाट प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गर्नुभयो ।
उहाँ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणका क्रममा सोमबार यहाँ आउनुभएको थियो । भ्रमणका दौरान विदेशमन्त्री अल्बुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
त्यस्तै परराष्ट्रमन्त्री डा राणा र विदेशमन्त्री अल्बुसैदीबीच आज द्विपक्षीय भेटवार्ता भएको थियो । उहाँहरूबीच नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
त्यसै वार्तामा हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो ।
