राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह


चितवन । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन् ।
नेपाली कांग्रेस चितवनले सोमबार भरतपुरमा आयोजना गरेको दिपावली विशेष कार्यक्रममा सिंहले राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताए । सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्ता समिकरण बनेको उनको भनाइ थियो ।
उपप्रधानमन्त्री सिंहले भने, ‘विधिको शासन कायम गर्नेतर्फ हाम्रो प्रयास रहन्छ ।’
फरक प्रसङगमा उनले कांग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्व दिँदा हामी गन्तव्यमा पुग्न सक्दैनौँ । पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै हो’, उपप्रधानमन्त्री सिंहले भने ।
नेपाली कांग्रेसको नेतृत्वबाट जारी सङ्घीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्मअनुसार त्यसलाई अक्षरशः पालना गरेर त्यसको आधारमा राजनीतिक स्थायित्व कामय गर्दै विकासलाई सँगै लैजानुपर्ने उनले उल्लेख गरे ।