`

‘आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ’

Nepal One HD २१ कार्तिक २०८१ १३:०७
अर्थ समाचार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बनेका छन् । गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौतारिने युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन् ।

आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले नौ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ५० वर्षीय घिमिरे साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएका छन् । ‘जहाँ भए पनि काम नगरी सुःख पाइदैन,’ उनले भने, ‘विचौलियालाई लाखौँ पैसा दिएर आफैँलाई बेचेर विदेशमा पुगेर अर्काको नोकर बन्नुभन्दा आफ्नै खेतबारीमा नङ्ग्रा खियाउँदा सन्तुष्टि मिल्दो रहेछ ।’

पाँच हाइटेक प्रविधिको टनेलमा तरकारी खेती गरेका घिमिरेको बारीमा अहिले मौसमी र बेमौसमी तरकारीहरू लटरम्मै झुलिरहेका छन् । काउली, बन्दा, मटरकोसा, गोलभेँडा, मूला, साग, धनियाँदेखि लिएर काँक्रा र तितेकरेलाजस्ता बेमौसमी तरकारी फलाएर घिमिरेले एक याममा ४ लाखभन्दा बढी कमाइ हुने बताए ।

अमृता कृषि फार्म सञ्चालन गरेका घिमिरेले आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । उनले गोलभेडा, काउली, बन्दा, आलु, साग, मौसमी तरकारी र बेमौसमी तरकारीको उत्पादन गरेर बेनी बजारमा बिक्री गर्दै आएका छन् ।

घिमिरेको कृषि फार्ममा श्रीमती र छोराले पनि साथ दिएका छन् । छोरालाई उच्च शिक्षा पढाउन र घरब्यवहार चलाउन तरकारी खेतिले सहज भएको उनले बताए । कृषि ज्ञान केन्द्रले हाइटेक प्रविधिको टनेल स्थापना गर्न सहयोग गरेको छ । केन्द्रका प्रमुख सञ्जीवी बाँस्तोला चन्द्रबहादुर मिहिनेती, परिश्रमी, संघर्षशील र सफल अगुवा कृषकको पहिचान बनाउन सफल भएको बताउँछन् ।


प्रतिक्रिया