कसैको वैशाखी टेकेर चुनाव लड्दैनौंः प्रचण्ड


बारा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा कांग्रेस र एमालेसँग मिलेर चुनाव लड्दा आफूहरुलाई घाटा भएको बताएका छन् ।
बिहीबार बारामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उनीहरुसँग मिलेर चुनाव लड्दा माओवादीले घाटा व्यहोर्ने अवस्था रहेको उल्लेख गर्दै अब एक्लै चुनाव लड्ने बताए । उनले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै पनि बताए ।
उनले गत मंसिरको उपनिर्वाचन र भर्खरै सम्पन्न स्ववियु निर्वाचनको परिणामबाट माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै बताए ।
उनले भने, ‘गत उपनिर्वाचनमा कांग्रेस एमाले मिलेर मात्र होइन, उनीहरुले आपसमा चुनाव चिन्ह साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौं । अहिले स्ववियु निर्वाचनमा आउँदा पनि कांग्रेस र एमालेसमर्थित विद्यार्थी संगठनहरु मिलेर चुनाव लड्दा पनि माओवादी समर्थित अखिल क्रान्तिकारीले एक्लै देशव्यापी उत्साहप्रद नतिजा निकालेको छ ।’
सरकारका गलत क्रियाकलापको फाइदा उठाएर प्रतिगामी शक्तिहरुले टाउको उठाउने दुस्साहस गरेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले जनताको अधिकारको रक्षाका लागि प्रतिगामी र यथास्थितिवादी शक्तिका विरुद्ध लड्नुपर्ने दायित्व फेरि जनताकै काँधमा आएको बताए ।