३१ महिनाभित्र जे-जे गर्नुछ गरिसक्न कांग्रेस-एमालेलाई सांसद ढकालको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र अभ्यासले बैंकको गरिमा क्षयिकरण गरेको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद ढकालले भने, ‘राष्ट्र बैंक जस्तो गरिमामय संस्थामा नेतृत्वका लागि गर्भनर नियुक्तिमा जुन किसिमको लज्जास्पद अभ्यास र ऐतिहासिक भूल गरिँदैछ । भोलिका दिनमा बैंकको गरिमा क्षति हुने निश्चित छ ।’
उनले कांग्रेस र एमालेलाई दुई जना गभर्नर बनाउन सुझावसमेत दिए । उनले भने,‘म गठबन्धन सरकारलाई जे गर्नुछ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस् भन्छु । चल्या छ लडाईं, दुईवटा गभर्नर बनाउनुस् न, एउटा विचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को काम पनि गर्नुहोस् । ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस् ।’