व्यापार समस्या समाधानका लागि बङ्गलादेशले भारतसँग छलफल गर्ने

ढाका । भारतले स्थल बन्दरगाहमार्फत् बङ्गलादेशी निर्यातमा प्रतिबन्ध लगाएपछि देशको अन्तरिम सरकारले भारतसँगको सबै व्यापारिक समस्याहरू समाधान गर्न चाहेको बताएको छ ।
नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारका सल्लाहकारले बङ्गलादेश भारतसँग सबै विषयमा छलफल गर्न चाहेको बताए ।
हालै भारतले बङ्गलादेशबाट सडकमार्फत् तयारी पोसाक (रेडीमेड गार्मेन्ट, आरएमजी) फलफूल/फलफूलको स्वाद र कार्बोनेटेड पेय पदार्थ, बेक गरिएका सामान, स्न्याक्स, चिप्स र कन्फेक्सनरी, कपास र कपासको धागोको अवशेष, प्लास्टिक र पिभिसी तयारी सामान र काठको फर्निचरको आयातमा प्रतिबन्ध लगाएको थियो ।
यसअघि बङ्गलादेशले भारतबाट स्थलमार्गबाट धागो आयात गर्न प्रतिबन्ध लगाएको थियो । भारतले बङ्गलादेशबाट तेस्रो देशहरूमा सामान निर्यात गर्ने ट्रान्स–शिपमेन्ट सुविधा पनि रद्द गरेको थियो । यसरी दुई छिमेकी देशबीच पारस्परिक व्यापार प्रतिबन्धहरू लगाइँदैछन् ।
“हामीलाई भारतको कदमबारे औपचारिक रूपमा केही थाहा छैन । हामीलाई औपचारिक रूपमा थाहा भएपछि मात्र हामी कारबाही गर्न सक्नेछौँ । कुनै समस्या उत्पन्न भएमा दुवै पक्षले छलफल गरेर समाधान गर्ने प्रयास गर्नेछन्”, भारतले लगाएको पछिल्लो प्रतिबन्धबारे बङ्गलादेश अन्तरिम सरकारका वाणिज्य सल्लाहकार शेख बशिरुद्दीनले पत्रकारहरूलाई भने, “हामीले सामाजिक सञ्जाल र समाचारबाट थाहा पाएका छौँ कि उनीहरू (भारत) ले स्थल बन्दरगाहहरू, विशेष गरी अखौरा र दावकी बन्दरगाहहरू र केही सीमा क्षेत्रका सम्बन्धमा केही निर्णय लिएका छन् । हाम्रो मुख्य लक्ष्य प्रतिस्पर्धात्मकता हासिल गर्नु हो । यो दुवै देशका लागि लाभदायक विषय हो ।”
“भारत आफैँ कपडा वा कपडा उद्योगमा धनी देश हो भन्ने हामीलाई लाग्छ । त्यसो भए पनि जब यी उत्पादनहरू हाम्रो देशबाट निर्यात गरिन्छ, यो हाम्रो क्षमताहरूमा आधारित हुन्छ । हामी ट्रान्स–शिपमेन्टबाट प्रभावित हुँदैनौँ । हामीले आफ्नै क्षमता प्रयोग गरेर यो समस्या समाधान गरेका छौँ”, उनले भने, “हामी भौगोलिक रूपमा जोडिएको देश भएकाले हाम्रो प्रतिस्पर्धात्मकता, यातायात खर्च र अन्य कारकहरू निश्चित छन् । यस सम्बन्धमा हामी विभिन्न समयमा हाम्रो कृषि उत्पादनहरूको आयातमा प्रतिबन्ध लगाउँछौँ, भारतले पनि गर्दछ । यो व्यापार व्यवस्थापनको एक प्रक्रिया हो र हामी त्यसमा काम गरिरहेका छौँ, यदि त्यहाँ समस्या उत्पन्न भयो वा विकसित भयो भने, दुवै पक्षले छलफल गरेर समाधान गर्ने प्रयास गर्नेछन् ।”
“म उदारवादी व्यापारमा विश्वास गर्दछु । व्यापार मेरो लागि महत्त्वपूर्ण छ । मेरो देशको व्यवसाय र उपभोक्ताहरूलाई सशक्त बनाउन व्यापार समावेशीकरण बाहेक अन्य कुनै मार्ग देख्दिनँ”, बशिरुद्दीनले भने ।
यसअघि शनिबार वाणिज्य तथा उद्योग मन्त्रालयले विदेश व्यापार महानिर्देशालय ९डिजिएफटी० ले जारी गरेको निर्देशनपछि बङ्गलादेशबाट विभिन्न श्रेणीका सामानको आयातमा तत्काल स्थल बन्दरगाहमा प्रतिबन्ध लगाएको थियो ।
ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जिटिआरआई) का अनुसार बङ्गलादेशबाट स्थल बन्दरगाहमार्फत् हुने आयातमा भारतले लगाएको प्रतिबन्धले सात करोड ७० लाख अमेरिकी डलर मूल्यका सामानमा असर पर्नेछ । यो कुल द्विपक्षीय आयातको लगभग ४२ प्रतिशत हो ।
यस कदमले विशिष्ट बन्दरगाहहरूमा तयारी पोशाक र प्रशोधन गरिएका खाद्य पदार्थहरू जस्ता उत्पादनहरूको प्रवेशलाई सीमित गर्ने मन्त्रालयको एक आधिकारिक प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसलाई व्यापक रूपमा भारतीय धागो, चामल र अन्य सामानहरूमा बङ्गलादेशको हालैको प्रतिबन्धको प्रतिक्रियाका रूपमा हेरिएको छ ।
नयाँ निर्देशिकाअनुसार बङ्गलादेशबाट सबै प्रकारका तयारी पोशाक अब नव सेवा र कोलकाता समुद्री बन्दरगाहहरूमार्फत् मात्र आयात गर्न सकिन्छ । स्थल बन्दरगाहहरूमार्फत् प्रवेश अब अनुमति छैन ।