`

पाकिस्तानमा भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण २२५ जनाको मृत्यु

Nepal One HD ३१ साउन २०८२ १३:४६
विश्व

वार्सा । पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो २४ घन्टामा कम्तीमा २२५ जनाको ज्यान गएको छ ।

सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो, जहाँ १८० जनाको मृत्यु भएको छ । पाकिस्तानअधीन कश्मीरमा नौ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको ज्यान गएको छ ।

बाढी र पहिरोका कारण महिलासहित धेरै बालबालिकाहरूको मृत्यु भएको छ । उद्धार कार्यका क्रममा मौसम खराबीका कारण प्रान्तीय सरकारको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाले ज्यान गुमाएका छन् ।

सरकारले बुनर, बजौर, मानसेहरा र बट्टाग्राम जिल्ला ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ । स्थानीय बासिन्दाहरूले घटनालाई ‘प्रलय’ र ‘प्रलयको दिन’ सरह भयावह भएको बताएका छन् ।

पाकिस्तानको मौसम विभागले आगामी दिनमा झनै भारी वर्षा हुने चेतावनी दिँदै जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ । सरकारद्वारा शनिबारलाई शोकको दिन घोषणा गरिएको छ, जहाँ राष्ट्रिय झण्डा आधा झुकाइनेछ र मृतकहरूलाई राज्य सम्मानसहित अन्त्येष्टि गरिनेछ ।

जलवायु परिवर्तनका कारण पाकिस्तानमा यस्ता चरम मौसम घटनाहरू बढ्दो क्रममा छन् । यो वर्षको असामान्य मनसुनले अहिलेसम्म ५०० जनाभन्दा बढीको ज्यान लिइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *