`

सांसद विकास कोषको रकमबारे अनावश्यक प्रचार गरियोः सांसद थापा

Nepal One HD ६ जेठ २०८२ १३:५६
राजनीति

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले निर्वाचित जनप्रतिनिधिको भूमिका कमजोर बनाउने प्रयास नगर्न चेतावनी दिएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद थापाले सांसद विकास कोषको रकमबारे अनावश्यक प्रचार भइरहेको भन्दै आपत्ति जनाए । उनले यस्तो बहस कुनै पनि बहानामा उचित र सही नहुने बताए ।

उनले सांसद विकास कोष सांसदहरूलाई कोष नभएर योजना सिफारिस गर्ने अधिकार रहेको बताए । उनले भने, ‘यसबाट व्यवस्था विरोधी,अस्थिरता र अराजकतावादीहरू हौसिने तथा अनावश्यक रूपमा आम नागरिक र आम मतदाता थप असन्तुष्ट र निराश हुनेछन् ।’

सांसद थापाले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी अटुट र अन्योन्याश्रित जोड्नु अनिवार्य रहेको बताए ।

उनले भने, ‘सांसदहरूलाई कोष होइन योजना सिफारिस गर्ने अधिकार दिँदा त्यस विरुद्ध किन बकवास गरिन्छ ? बजेटमा छलफल, बहस र पारित गर्ने संवैधानिक कानुनी अधिकार नै हो । ’


प्रतिक्रिया