`

संसदको सामाजिक समिति सभापति साहमाथि सांसद मियाँद्वारा ‘माइक’ प्रहार

Nepal One HD ७ जेठ २०८२ १५:१२
राजनीति

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक प्रहार भएको छ।

बुधबार समितिको कार्यकक्षमा बैठक जारी रहँदा नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले सभापति साहमाथि माइक र नेम प्लेट प्रहार गरेकी हुन्।कुसारीले समितिका सभापतिमाथि माइक प्रहार गर्नुको कारण बोल्ने समय नपाउनुको झोँक रहेको बताइएको छ।

सभापति साहका अनुसार समिति बैठकमा कुसारी ढिला पुगेकी थिइन्। ढिलो गरी बैठककक्षमा पुगेकी उनले अनुमति नपाएरै बोल्न थालेपछि सभापति साहले रोक्न खोजे। त्यसपछि विवाद भयो। आजको बैठक महिला, बालबालिका तथा ज्येष्ठ नागरिक भएका अनाथालय, वृद्धाश्रम र बाल सुधार गृहको अनुगमनको विषयमा छलफल भएको साहको भनाइ छ।

विवादकै बीच कुसारीले सभापति साहमाथि गम्भीर आरोप लगाइन्। उनले सभापति साह सधैँ आफैँ संयोजक बनेर अनुगमनमा जाने, आफ्ना छोरालाई स्वकीय सचिव बनाएर घुम्न लैजाने गरेको र अनुगमनमा जाँदा खाली बिल स्वीकृत गराउने गरेको आरोप लगाइन्। सांसद कुसारीले पनि आफूले माइक र नेमप्लेटले हानेको बताइन्।

‘मैले माइक र नेमप्लेटले हानेकै हो तर लागेन। भनाभन मात्रै भयो,’ उनले भनिन्, ‘अब कि म त्यो समितिमा बस्दिनँ, कि सभापतिलाई हटाउनुपर्छ।’

बैठकमा लफडा भएपछि सभामुख देवराज घिमिरेले यस विषयमा चासो देखाएका छन्। उनले सभापति साहसहित सांसदलाई छलफलमा बोलाएका छन्।

सभापति साह भने रौतहट निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद हुन्।

 

 


प्रतिक्रिया