गोरालाई हत्या गर्न आदेश दिएको भिडियो ट्रम्पले दक्षिण अफ्रिकी राष्ट्रपतिलाई देखाएपछि…


बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसालाई दक्षिण अफ्रिकामा गोरा जातिका मानिसहरूविरुद्ध नरसंहार भइरहेको आरोप लगाएका छन् । ट्रम्पले आफ्ना समकक्षीमाथि गोरा किसानहरू मारिएको र दमनमा परेका भन्ने आरोप लगाएपछि सम्बन्ध सुधार गर्ने उद्देश्यले गरिएको बैठक एकाएक तनावपूर्ण बनेको थियो ।
बुधबार अमेरिकाले करिब ६० अफ्रिकनहरूलाई शरण दिएपछि दक्षिण अफ्रिका असन्तुष्ट बनेको थियो । राष्ट्रपति रामाफोसा सम्बन्ध सुधारको प्रयासस्वरूप ह्वाइट हाउस पुगेका थिए । तर उक्त भेटमा, ट्रम्पले प्रत्यक्ष पत्रकार सम्मेलनको बीचमा दक्षिण अफ्रिकामा तथाकथित ‘गोराहरूको नरसंहार’ भएको भनी व्यापक रूपमा खण्डन गरिएका दावीहरू प्रस्तुत गर्दै रामाफोसालाई आश्चर्यचकित तुल्याएका थिए ।
ट्रम्पले एउटा भिडियो देखाए जसमा विरोध प्रदर्शनका क्रममा सडक किनारामा राखिएका थुप्रै क्रसहरू देखिन्थे । उनले ती गोरा किसानहरूको समाधिस्थल भएको दावी गरे ।
तर ती क्रसहरू वास्तवमा चिहान नभई २०२० मा क्वाजुलु–नटाल प्रान्तमा एक किसान दम्पतीको हत्या भएपछि गरिएको प्रदर्शनको दृश्य थिए, जसमा किसानहरूमाथि वर्षौंदेखि भएका आक्रमणहरूलाई सम्झनाका रूपमा राखिएको थियो।
उक्त बैठकअघि, रामाफोसाले अमेरिका–दक्षिण अफ्रिका व्यापार सम्बन्ध सुधार आफूको प्रमुख प्राथमिकता भएको बताएका थिए। जुलाईपछि ट्रम्प प्रशासनले लगाउने नयाँ आयात कर अन्त्य भएपछि, अमेरिकी बजारमा दक्षिण अफ्रिकी निर्यात वस्तुहरूमा ३० प्रतिशतसम्म शुल्क लाग्नेछ ।
यो बैठक त्यही साता सम्पन्न भएको थियो, जब ५९ जना गोरा दक्षिण अफ्रिकीहरू अमेरिका पुगेका थिए र उनीहरूलाई शरणार्थीको दर्जा दिइएको थियो। त्यसबेला राष्ट्रपति रामाफोसाले उनीहरूलाई ‘कायर’ को संज्ञा दिएका थिए । ओभल अफिसमा भएको बैठक सुरुमा मैत्रीपूर्ण वातावरणमा सुरु भए पनि ट्रम्पले भिडियो प्रस्तुत गर्न बत्ती कम गर्न आग्रह गरेपछि वातावरण तनावपूर्ण बनेको थियो ।
उक्त भिडियोमा दक्षिण अफ्रिकाको प्रमुख विपक्षी नेताहरू मध्ये एक जुलियस मालेमाको स्वरमा ‘बुअरलाई गोली हान, किसानलाई गोली हान’ भन्ने गीत बजाइएको थियो। त्यसपछि क्रसहरूले भरिएको खेत देखाइएको थियो जसलाई ट्रम्पले ‘गोराहरूको समाधिस्थल’ भएको बताएका थिए ।
रामाफोसाले उक्त भिडियोमा सुनिएको नारामा प्रतिक्रिया दिँदै भने, ‘तपाईंले देख्नुभएको – त्यो भाषण… त्यो हाम्रो सरकारी नीति होइन। दक्षिण अफ्रिकामा बहुदलीय लोकतन्त्र छ जसले नागरिकहरूलाई अभिव्यक्ति स्वतन्त्रता दिन्छ।’