नाम्खाको बाढीबारे अध्ययन गर्न प्राविधिक टोली हुम्लामा


काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न प्राविधिक टोली सिमिकोट पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशील कुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली बिहीबार सिमिकोट पुगेको हो । टोलीमा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहाद्र जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा छन् ।
टोलीले विपद्का कारण भएको क्षतिको मूल्याङकन तथा थप जोखिमको अध्ययन गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले विपद्को प्राविधिक अध्ययनका लागि इसिमोडलाई समेत आग्रह गरिसकेको छ ।
यही जेठ १ गते रातिको बाढीबाट प्रभावित हुम्ला जिल्ला नाम्खा गाउँपालिका–६ का १८ घर परिवारका ३२ जना विस्थापित भएका छन् । उनीहरुका लागि जिल्ला विपद् व्यवस्थापन समिति, हुम्लामार्फत् १० क्विन्टल चामल, १०० लिटर तेल, २ क्विन्टल नुन, २ क्विन्टल चिनी, ३० क्विन्टल मैदा, १ क्विन्टल भुजा, १ क्विन्टल चिउरा, १० पाकेट चियापत्ति, १० पाकेट साबुन, ४ वटा त्रिपाल, १० बोरा सिमेन्ट, आलु तथा सागसव्जीको विउ÷विजन र अत्यावश्यक औषधि उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।