क्षणिक स्वार्थका लागि राजसंस्थाबारे देउवाको धारणा भन्दै गलत प्रचार गरियोः नेता विश्वकर्मा

NepalOne
८ जेठ २०८२ १२:५१
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवाको राजसंस्थाबारे धारणा भन्दै गलत प्रचार गरिएको बताएका छन् ।

देउवा हृदयन्द्रलाई राजामा मान्न तयार रहेको समाचार केही संचारमाध्यममा आएपछि विश्वकर्माले त्यसको खण्डन गरेका हुन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री श्री शेरवहादुर देउवा २०६२/६३ को जनआन्दोलनका उपलब्धि अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको संविधानको संरक्षण र संवद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका हिमायती मात्र होईन अथक योद्दा हुनुहुन्छ । कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनि मिडियामा गलत सूचना संप्रेषण गर्नु अनैतिक कार्य हो ।’

उनले कतै नबोलेको कुरालाई प्रचार नगर्न पनि आग्रह गरेका छन् । उनले भने, ‘उहाँले कहीँ कतै नबोलेको नभनेको र नसोचेको कुरा मनगढन्ते ढंगले प्रचारमा ल्याउनु पत्रकारिताको क्षेत्र र धर्म होइन । अतः यस्ता भ्रमात्मक कुरामा विश्वास नगर्न र अव्यक्त कुरा मिडियामा संम्प्रेषण नगर्न सबैमा अनुरोध गर्दछु ।’


प्रतिक्रिया