भौतिक पूर्वाधारमन्त्रीद्वारा ग्वार्को फ्लाईओभरको अनुगमन, असार १ गतेदेखि संचालन गर्ने तयारी


काठमाडौं । ग्वार्को फ्लाईओभर आगामी असार एक गतेदेखि संचालनमा आउने भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल ग्वार्को फ्लाई ओभरको अनुगमन गर्न पुगेका थिए ।
अनुगमनपछि मन्त्री दाहालले काम जेठको अन्तिमसम्ममा सम्पन्न गरेर असार एक गतेदेखि सञ्चालन गर्ने तयारीमा रहेको बताए ।
निर्माण कम्पनीले जेठभित्रै दुवैतर्फको फ्लाइओभर र सडकलाई जोड्न बीचमा माटो भरेर निर्माण गरिएको संरचनामा कालोपत्रे सकिने र लगत्तै गाडी गुडाउने तयारी गरेको छ ।
ठेकेदार कम्पनी आरसी, समानान्तर र रिलिग्रे जेभीले फ्लाइओभरको कोटेश्वरतर्फको र्याम्पमा बिहीबारदेखि नै प्राइम कोट बिछ्याउन सुरु गरेको छ ।
सातदोबाटोतर्फको र्याम्पमा भने ग्राभेल गरेर ‘बेस कोर्स’ बनाउने काम भइरहेको छ । ओभरपास सम्पन्न गर्न १७ करोड ६ लाख ८८ हजारमा ठेक्का लागेको हो ।
सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो । त्यसपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी कम्पनीसँग २०७८ फागुन १२ मा सम्झौता भएको थियो ।