माओवादीले अहिले ६४ को जस्तो हुन्छु भनेपनि अब कहिले आउने छैनः प्रधानमन्त्री ओली

NepalOne
११ जेठ २०८२ १४:३७
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका छन् ।

आइतबार ललितपुरको गोदावरीमा नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीहरुको आन्दोलनप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । उनले सरकार र जनता चुप लागेकाले राजावादीहरूको फूर्तिफार्ती बढेको बताए ।

उनले ढ्याङ्ग्रो लिएर एमाले मैदानमा उत्रिएपछि राजावादीको भागभाग हुने बताए । उनले भने, ‘नेपाली जनता र सरकार मौन बसेकाले यिनीहरुको फुर्तिफार्ती बढेको हो । एमाले मैदानमा उत्रिएपछि भागाभाग हुन्छ ।’

सम्बोधनका क्रममा प्रधानमन्त्रीले माओवादीप्रति पनि आक्रोश पोखेका थिए । प्रधानमन्त्रीले २०६४ सालमा लुटेर र आतंक सिर्जना गरेर माओवादी पहिलो पार्टी बनेको आरोप लगाए ।

उनले भने, ‘२०६४ सालमा देश माओवादीमय नभई आतंकमय भएको थियो । किनभने माओवादीका लडाकु क्याम्पमा राखेर, मार्च पास गराएर, मान्छे तान्दै कुट्दै, मार्दै तर्साएर आतंकको राज गरेको हो । अब ति दिन गए ।’

उनले माओवादीले अहिले ६४ को जस्तो हुन्छु भनेपनि ६४ अब कहिले नआउने र ठूलो हुन नसक्ने दाबी गरे । उनले दुई तिहाइको कम्युनिस्ट पार्टीलाई ध्वस्त पार्दै एमालेको सरकार ढालेर कांग्रेससँग बिन्तीपत्र चढाउन जानेहरूसँग वाम एकता नहुने बताए ।


प्रतिक्रिया