`

गगनलाई अमरेशको कटाक्ष : नयाँ पार्टीका सभापतिसम्बन्धी १८ करोड प्रकरणको निष्पक्ष छानबिन होस्

Nepal One HD १७ कार्तिक २०८३ १८:५०
नेपाली कांग्रेस

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासम्बन्धी १८ करोड रुपैयाँको लेनदेनमार्फत आधिकारिकता प्राप्त गरेको भन्ने समाचारप्रति प्रश्न उठाएका छन्।

सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सिंहले सुशासन, पारदर्शिता र स्वतन्त्र न्यायपालिकाको पक्षमा ठूला कुरा गर्ने नेतासँग सम्बन्धित यस्तो गम्भीर समाचार सार्वजनिक भएपछि सत्यतथ्य स्पष्ट हुनुपर्ने बताएका छन्।

उनले उक्त विषय सत्य भए जनताले गम्भीर रूपमा सोच्नुपर्ने उल्लेख गर्दै सभापति बन्नकै लागि न्याय र न्यायिक प्रक्रियामा पैसाको प्रभाव पार्न खोज्ने व्यक्तिबाट सत्तामा पुगेपछि के अपेक्षा गर्ने भन्ने प्रश्न उठाएका छन्।

‘२.० को खोल ओढ्दैमा कोही इमानदार हुँदैन,’ सिंहले भनेका छन्। सुशासनको नारा लगाउँदै जनतालाई भ्रममा पार्ने र पर्दापछाडि शक्ति, पैसा तथा बिचौलियाको खेल खेल्नेहरूबाट देशको भविष्य सुरक्षित नहुने उनको भनाइ छ।

सिंहले सञ्चारमाध्यममा आएका समाचार सत्य भए दोषीमाथि कानुनअनुसार कठोर कारबाही गर्न र असत्य भए तथ्यसहित जनतालाई स्पष्ट पार्न माग गरेका छन्।

‘जनतालाई अब भाषण होइन, हिसाब चाहिएको छ,’ सिंहले भनेका छन्।

यद्यपि, १८ करोड रुपैयाँको लेनदेनसम्बन्धी समाचारमा उठाइएको आरोपको सत्यता स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *