गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउने एमालेको निर्णय


काठमाडौं । नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ ।
आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
बैठकले आमजनसमुदायलाई पनि गणतन्त्र दिवस उत्साहपूर्वक मनाउन आह्वान गरेको छ र उनले, पार्टीका तर्फबाट मात्रै नभइ, स्थानीय तहका पालिकाहरूका तर्फबाट पनि गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिने बताए ।
एमालेले गणतन्त्र दिवसलाई जनस्तरमा अझ व्यापक बनाउने उद्देश्यले स्थानीय तहका कार्यकर्ताहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन समेत दिएको छ ।
बैठकले ‘गणतन्त्रको विपक्षमा हुने कुनै पनि अवाञ्छित गतिविधि’ सहृय नहुने र त्यसको प्रतिवाद गर्न एमालेले निर्णय गरेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘गणतन्त्रको रक्षा र विकासका लागि पूर्ण प्रतिबद्ध रहँदै भव्य रुपमा मनाउने निर्णय गरेको छ । गणतन्त्रविरुद्ध हुने कुनै पनि अवाञ्छित गतिविधि सहृय छैन ।’