गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुद्वारा संसद अवरोध

NepalOne १३ जेठ २०८२ ११:५३
प्रमुख खबर

काठमाडौँ । संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको मंगलबारको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई बोल्ने समय दिएका थिए ।

पुनले यो हप्ताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिुभवन विश्वविद्यालय अध्यागमनमा ‘भिजिट भिसा’ मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गर्दै सामान्य नागरिक जो काम गर्न बाहिर जान्छन् उनीहरूलाई ५० लाखदेखि तीन करोडसम्म उठाइएको भन्ने तथ्य आएको बताए ।

मुख्य आरोपी सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले नै त्यहाँ पठाएको आरोप लगाउँदै त्यस विषयमा अनुसन्धान हुनुपर्ने प्रतिपक्षी दलको माग छ । गृहमन्त्री रमेश लेखक कानुन र मानव अधिकार क्षेत्रबाट आएकाले र उहाँले यसअघि धेरै नेतामाथि नैतिकताको विषय उठाएकाले राजीनामा माग गरे ।

‘गृहमन्त्री लेखकको सचिवालय यसमा जोडिएकाले अनुसन्धान गर्ने निकाय सबै गृहमन्त्री मातहत रहेकाले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गरिदिनुपर्छ, उहाँले राजीनामा दिनुपर्छ, राजीनामा नआएसम्म संसद्को प्रक्रिया अघि बढ्दैन,’ पुनले भने ।

त्यसैगरी रास्वपाका सांसद शिशिर खनालले पनि विगतमा गृहमन्त्री लेखकले नैतिकताको कुरा गरेको भन्दै त्यही कुरा स्मरण गरेर राजीनामा दिन सुझाव दिए ।

उनले गृहमन्त्रीले राजीनामा नदिई सदन चल्न नदिने बताए । त्यसपछि विपक्षी सांसदहरु उठेर विरोध जनाइरहे । त्यसैबीचमा सभामुखले कांग्रेस मुख्यसचेतक श्याम घिमिरेलाई बोल्न समय दिएका थिए ।

घिमिरे बोल्न थालेपछि विपक्षी सांसदहरुले होहल्ला गरिरहे । त्यसपछि सभामुखले घिमिरेलाई आसन ग्रहण गर्न आग्रह गरे । विपक्षी सांसदहरुले होहल्ला गरिरहेपछि सभामुखले आधाघण्टाका लागि बैठक स्थगित गरेका छन् ।


प्रतिक्रिया