प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित


काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखको राजीनामा मागेपछि प्रभावित भएको संसद भोलि ११ बजेसम्मका लागि स्थगित भएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि प्रश्न उठेको भन्दै विपक्षी दलहरूले संसद अवरुद्ध पारेका थिए । उनीहरूले संसदमा नाराबाजी गर्दै गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने, भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने लगायत माग गरेका थिए ।
सभामुख देवराज घिमिरेले केही समयका लागि बैठक स्थगित गरेर दलका प्रमुख सचेतकहरूसँग संसद खुलाउने विषयमा छलफल गरेका थिए । तर छलफलमा विपक्षी दलहरु आफ्ना मागबाट पछि नहटेपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा विपक्षीको अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएकामा पुनः सूचना टास गरी दिउँसो २ बजेर ३० मिनेटका लागि समय निर्धारण गरिएको थियो ।