राजावादीको आन्दोलनको स्वरुप परिमार्जन, अब जिल्लातिर प्रदर्शन गर्ने


काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरुपमा केही परिमार्जन गरेको छ ।
बुधबार बसेको संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको वैठकले देशका विभिन्न जिल्लाहरुमा आन्दोलनका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने र त्यसपछि आन्दोलनलाई पुनः काठमाडौँ केन्द्रित गर्ने निर्णय गरेको हो । बैठकले काठमाडौं उपत्यकाका विभिन्न पालिकाहरुमा विरोध प्रदर्शनहरु निरन्तर जारी राख्ने निर्णय गरेको छ ।
बैठकले आन्दोलनमा उत्साहजनक जनसहभागिताको निमित्त सबैमा आभार प्रकट गरेको छ । आगामी आन्दोलनका कार्यक्रमहरुमा समेत विभिन्न वर्ग, पेशा लगायत निजामति, सेना र प्रहरी सेवामा रहेर राष्ट्रको हितमा कार्य गरेका पुर्व राष्ट्रसेवकहरु तथा आम जनताको व्यापक सहभागिताको निम्ति वैठकले अपील गरेको छ ।
बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नआएपछि होहल्ला भएको थियो । तर पछि समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।